६ फागुन,काठमाडौं - काठमाडौँ–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो कार्यक्रममार्फत उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा र विकास योजनाबारे जानकारी दिइरहेका छन्।
बुधबार टोखामा आयोजित भेटघाट कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) देश निर्माणमा केन्द्रित शक्ति भएको दाबी गरे। पार्टीले सधैँ राष्ट्रिय हित र विकासलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्यही प्रतिबद्धता कायम रहने बताए।
पोखरेलले कार्यकर्ता तथा समर्थकलाई जनतामाझ पुगेर पार्टीका नीति तथा कार्यक्रम स्पष्ट रूपमा राख्न आग्रह गरे। उनले मतदाताका गुनासा, सुझाव र आलोचनालाई गम्भीरतापूर्वक लिने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार फरक राजनीतिक परिस्थितिमा हुन लागेको यस निर्वाचनले देशको भावी दिशा तय गर्ने भएकाले सही मार्गमा अघि बढ्न एमालेको जित आवश्यक छ।
२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौँ–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन्। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष कार्यक्रम ल्याउने वाचा गर्दै पोखरेल अहिले मतदाता भेटघाटमा सक्रिय छन्।