काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुन ले आगामी सरकारले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन्।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल Facebook मार्फत धारणा सार्वजनिक गर्दै भ्रष्टाचारीलाई कानुनी प्रक्रियामार्फत यस्तो कारबाही गर्नुपर्ने बताए, जसले उनीहरू पुनः उभिनै नसक्ने अवस्था सिर्जना होस्।
उनले कानुनी प्रावधानले अवरोध गरेमा त्यसलाई तत्काल संशोधन वा नयाँ नियम ल्याएर अघि बढ्नुपर्ने धारणा राखेका छन्। पुनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकार जनताप्रति ठूलो धोका हुने मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता राजनीतिक शक्तिहरू पनि भविष्यमा कमजोर हुँदै जाने जोखिम हुन्छ।
‘तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्नुपर्छ,’ उनले उल्लेख गर्दै भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।