चर्चित गायिका एलिना चौहाना र विष्णु सापकोटाको बिहेलगत्तै डिभोर्स, लफडा जारी

साझा लाल्टिन संवाददाता

युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानाले डिभोर्स गरेको  महिनौ बितिसकेको छ, तर उनले अहिले पनि विभिन्न अन्तर्वार्ता र पोडकास्टहरुमा त्यही विषयमा बोल्दै हिँडेको देखिन्छ । 

सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्नेहरुविरुद्ध उनले मिडिया एक्सपोज अभियानदेखि प्रहरीको साइबर ब्युरो हुँदै गृहमन्त्री रमेश लेखक समेत भेटिन् । यसबीचमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले डिभोर्स भइसकेका पूर्वपति विष्णु सापकोटा जोडिरहे । 

यसरी डिभोर्स भएको छ महिनासम्म एलिनाले एकतर्फी हिँसा गरेको आरोप लगाउँदा समेत मौन बसेका सापकोटाले पहिलोपल्ट मुख खोलेका छन् । उनले आज समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी पनि दिएका छन् । 

कानुनी रुपमा अलग भइसकेपछि पनि एलिनाले पुरानो कुराको चर्चा गर्दै हिँडेको र त्यसले आफूलाई मानसिक रुपमा असर गरेको उनको अनुभव छ । हामी दुई जना अलग भइसकेपछि आपसी समझदारीको आधारमा व्यक्तिगत कुरा सार्वजनिक रुपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय थियो, तर चुप लागेर बस्नु मेरो कमजोरी होइन, उनले भनेका छन्, दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान ठहर्छ ।

अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका सापकोटाले एलिनाको विषयलाई लिएर आफूमाथि गालीगलौज गर्नेविरुद्ध कानुनी उपचार खोजिरहेको पनि बताएका छन् । सबैलाई मर्यादित हुन आग्रह गर्दै थपेका छन्, म अहिले नेपाल र अष्ट्रेलिया दुवै स्थानमा कानुनी परामर्श लिदैछु ।

यता सापकोटाले स्टाटस लेखेको केही घण्टापछि एलिनाले एउटा तस्वीर सार्वजनिक गर्दै जवाफ फर्काएकी छन् । तस्वीरमा उनको अनुहारभरी हातपातको निलडाम देखिन्छ । उनले भनेकी छन्, हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो । तर समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो ।

प्रतिक्रिया