काठमाडौँ १४ साउन - काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान चलाइरहेको छ । हालै मात्रै काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु गरेको थियो ।
यस अन्तर्गत विभिन्न सार्वजनिक स्थानहरूमा नगर प्रहरी ब्यानर बोकेर सार्वजनिक स्थानमा धूम्रपान नगर्न चेतना फैलाइरहेका छन् । दैनिक रूपमा बिहान ९ बजेदेखि दुई घण्टाका लागि नगर प्रहरीहरू सार्वजनिक स्थानमा प्ले कार्ड बोकेर उभिने छन् । सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना तिराउने नियम हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै गरिएको हो ।
महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको छ ।