५ फागुन,काठमाडौं - आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै मतपत्रको छपाइ कार्य पूर्ण भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले सोमबार साँझसम्म छपाइ जिम्मेवारी सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार, आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानीको तयारी भइरहेको छ।
पौडेलले भने, “प्रत्यक्षतर्फको दुई करोड तीन लाख मतपत्र छपाइ कार्य ४२ दिनको तालिका भित्र सम्पन्न गर्नुपर्ने थियो, तर हामीले ४० दिनमै काम पूरा गर्यौँ। अब १० दिनभित्र देशभरका सबै जिल्लामा मतपत्र पु-याइनेछ।”
केंद्रका अनुसार, दैनिक १३–१५ लाख मतपत्र छपाइ हुने क्रम जारी थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइसकेर निर्वाचन आयोगले विभिन्न स्थानमा वितरण गरिसकेको छ। अहिले समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने प्रक्रिया भइरहेको छ।
पौडेलले उल्लेख गरे, “कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र वितरण भइसकेको छ। बाँकी क्षेत्रमा पनि १० दिनभित्र सबै मतपत्र पुर्याउने लक्ष्यसहित काम भइरहेको छ।”