सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अर्को अन्याय हो : विराजभक्त

साझा लाल्टिन संवाददाता

काठमाडौँ ९ भदौ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारको तयारी बिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अर्को अन्याय भएको टिप्पणी गरेका छन्।

सोमबार फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै सांसद श्रेष्ठले सवारी साधन किन्दाखेरि नै सवारी धनीले नम्बर प्लेटको शुल्क तिरेको उल्लेख गर्दै सरकारले फेरि नयाँ नम्बर प्लेटको नाममा आर्थिक शोषण गरेको आरोप लगाए।

उनले अझै लाखौँ नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले  इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लागू गर्न लाग्नु जनभावना विपरीत भएको दाबी गरे।

श्रेष्ठले उक्त प्रणाली लागू गर्नुअघि पूर्वाधार, प्राविधिक तयारी र इम्बोस्ड नम्बर प्लेटको औचित्य स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले नेपाली भाषा र लिपिको संवेदनशीलता नहेरी सरकारले लिएको निर्णय उचित नभएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया