धनुषामा मिटरव्याज पीडित महिलाको बीभत्स हत्या

साझा लाल्टिन संवाददाता

काठमाडौं, २५ कात्तिक - धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो ।

सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।

घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।

मृतक महिलाले लगाएका सुनचाँदीका गरगहना समेत लुटेर लगेको पाइएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीको छ ।

प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।

प्रतिक्रिया