भ्रष्टाचार गरेको बारे हल्ला चलेको आधारमा कारबाही हुँदैन : प्रधानमन्त्री केपी शर्मा ओली

साझा लाल्टिन संवाददाता

काठमाडौँ ०७ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने संकल्पप्रति दृढ रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई आलोचना गर्ने बानी परेको भन्दै त्यसलाई आफूले गम्भीर रूपमा नलिएको बताएका छन् ।  

केही  मान्छेहरूको फेसन नै हुने गर्छ, प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने, त्यस्ता मान्छेहरूले कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्, अहिले पनि छानबिन होस् भनेर कराउँछन्, उनले भने, त्यो उनीहरुको ह्याबिटको कुरा हो ।

कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिमा आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुनबमोजिम कारबाही भइरहेको प्रधानमन्त्रीले बताएका छन्  । तर, कतै छपाएको वा हल्ला चलेको भरमा कारबाही नहुने उनले स्पष्ट पारेका छन् ।

गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनैपर्छ, उनले भने, तर हल्ला केही चल्यो अथवा कसैले केही बोल्यो अथवा कहीँ कतै छपायो अथवा फेसबुकमा स्ट्याटस लेख्यो । त्यसैको आधारमा कारबाही हुँदैन, गरिदैन ।

प्रतिक्रिया