७ पुस, काठमाडौं - भक्तपुरको सूर्यविनायक नगरपालिका–७ अन्तर्गत देउराली जंगल क्षेत्रमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ स्थायी घर भई ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्।
शव फेला परेको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमाक्षेत्रमा पर्छ। प्रारम्भिक अनुसन्धानबाट पारुहाङको हत्या गरी जंगलमा फ्याँकिएको आशंका गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार घटनाको सबै पाटो केलाउँदै अनुसन्धान अगाडि बढाइएको छ।
यस घटनालाई केही दिनअघि ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेरेफाँटमा भएको अर्को हत्यासँग जोडेर हेरिएको छ। पुस २ गते सिन्धुली गोलन्जोर गाउँपालिका–३ का केशवराज हायु फार्म हाउसको इनारभित्र बोरामा प्याक गरिएको अवस्थामा मृत भेटिएका थिए।
प्रहरी अनुसन्धान अनुसार हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थल आसपासमै रहेको आशंका गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतका अनुसार दुवै हत्या एउटै समूहद्वारा गरिएको हुनसक्ने संकेतहरू देखिएका छन्।
पारुहाङको टाउकोमा गहिरो चोट देखिएको छ भने उनको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार दुवै घटनामा प्रयोग गरिएको तरिका र परिस्थितिले एउटै गिरोह संलग्न भएको शंका बलियो बनाएको छ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल छन्, जो मृतक हायुका बहिनीका श्रीमान् हुन्। अर्का एक आरोपीको नाम भने अनुसन्धानको कारण सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार कम्तीमा तीन जना मिलेर हत्या गरी मोटरसाइकलमार्फत शवलाई फार्म हाउसको इनारमा फ्याँकिएको निष्कर्षतर्फ अनुसन्धान अघि बढिरहेको छ। घटनाले उपत्यकामा सनसनी मच्चाएको छ भने प्रहरी गहिरो अनुसन्धानमा जुटेको छ।