भूराजनीतिक खेलमा नेपाललाई गोटी बनाइयो, भदौको अराजकता योजनाबद्ध थियो : शंकर पोखरेल

साझा लाल्टिन संवाददाता

१३ पुस, काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीच भएको ७ बुँदे सहमतिपछि भदौ २३ र २४ गतेको विध्वंसका योजनाकार र मतियार को थिए भन्ने पर्दाफास हुन लागेको दाबी गरेका छन् ।

पोखरेलले सार्वजनिक धारणा राख्दै ती घटना कुनै आकस्मिक वा स्वतःस्फूर्त नभई नेपाललाई भूराजनीतिक खेलको गोटी बनाउँदै युक्रेनजस्तै अस्थिरता तर्फ धकेल्ने षड्यन्त्रको पहिलो चरण भएको आरोप लगाए ।

उनका अनुसार भदौ २३ र २४ गते देखिएको अराजकता देशभित्रैबाट निर्देशित नभई बाह्य शक्ति र स्वार्थ समूहको डिजाइनअनुसार अघि बढाइएको योजनाबद्ध विध्वंस थियो ।

महासचिव पोखरेलले अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भइसकेको भन्दै चेतावनीसमेत दिएका छन् । उनले राजनीतिक आवरणमा सक्रिय तत्वहरूले राज्य संरचना, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि सीधा हमला गरिरहेको आरोप लगाए ।

“अब सत्य लुक्न सक्दैन, मुखौटा खोलिने बेला आएको छ,” भन्दै पोखरेलले भदौको विध्वंसका नाइकेहरू छिट्टै जनताको कठघरामा उभिने संकेत गरेका छन् ।

प्रतिक्रिया