झापा भ्रमणपछि बालेन सुदूरपश्चिमतर्फ, निकट उम्मेदवारका क्षेत्रमा प्रचार गर्ने तयारी

साझा लाल्टिन संवाददाता

११ माघ, काठमाडौ -  झापाको चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने उनको कार्यक्रम तय भएको छ।

मनोनयन दर्ताका लागि झापा पुगेका बालेन केही दिन त्यहाँ बसेर हिजो काठमाडौं फर्किएका थिए। झापाको बसाइले उनलाई थप उत्साहित बनाएको बताइन्छ। तर, त्यहाँ रहँदा एक व्यवसायीले उपलब्ध गराएको महंगो गाडी प्रयोग गरेको विषयलाई लिएर विवाद पनि चर्किएको थियो। सो गाडी उनले झापामै छोडेर आएका छन्।

सुदूरपश्चिममा बालेननिकट दुई जना उम्मेदवार चुनावी मैदानमा छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका हुन्। यी दुवै निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै बालेन सुदूरपश्चिम जाने तयारीमा रहेको बुझिएको छ।

सुदूरपश्चिममा केही दिन बिताएपछि उनी पुनः काठमाडौं फर्किनेछन्। त्यसपछि काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा पुगेर चुनावी अभियानमा सक्रिय सहभागी हुने उनको अर्को कार्यक्रम तय भएको छ।

प्रतिक्रिया