ग्यास अभावको हल्ला फैलाएर बढी मूल्य लिनेलाई कारबाही गर्न महासंघको माग

साझा लाल्टिन संवाददाता

२६ फागुन,काठमाडौं - ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य नगर्न विक्रेतालाई सचेत गराएको छ।

मंगलबार जारी विज्ञप्तिमार्फत महासंघले पछिल्लो समय बजारमा ग्यास अभाव भएको र केही स्थानमा उपभोक्ताबाट अनुचित मूल्य असुलिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका अनुसार मध्यपूर्वमा देखिएको पछिल्लो तनावका कारण भविष्यमा ग्यास आपूर्ति प्रभावित हुन सक्छ भन्ने आशंका उपभोक्तामा देखिनु स्वाभाविक भए पनि त्यसलाई बहाना बनाएर बढी मूल्यमा ग्यास बिक्री गर्नु आपराधिक कार्य हो।

विज्ञप्तिमा देशभरका ग्यास विक्रेतालाई जिम्मेवार भएर सेवा प्रवाह गर्न र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।

संकटका बेला उपभोक्तालाई ठगी गर्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको महासंघले जनाएको छ। साथै, यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही हुने जानकारी सबै जिल्ला संघमार्फत देशभरका विक्रेतासम्म पुर्‍याउन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया