११ फागुन,काठमाडौं - उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–४० फिट तल खसेको हो।
प्रहरीका प्रारम्भिक जानकारी अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा परेर झन्डै एक दर्जन यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अहिले घटनास्थलमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा उद्धार कार्य जारी रहेको बताइएको छ।
23 February 2026