ओमप्रकाश–आदर्श नियुक्ति निर्णय फिर्ता लिन आजपा अध्यक्षको माग

साझा लाल्टिन संवाददाता

०२ चैत,काठमाडौं -आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई पछिल्ला दुई विवादास्पद निर्णय फिर्ता लिन आग्रह गरेका छन्। उनले राष्ट्रिय सभा सदस्यको लागि गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने निर्णय फिर्ता लिन सरकारसँग अनुरोध गरेका हुन्।

साहले भनेका छन् कि जेनजी विद्रोहको आधारमा बनेको सरकारले आफ्ना नजिकका सहयोगीहरूलाई महत्वपूर्ण राज्य निकायमा नियुक्त गर्नु उचित छैन। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्वाचन गराउने प्रधान दायित्व बोकेको सरकारले निर्वाचन सम्पन्न गरेपछि, अब बहिर्गमनको समयमा जेनजी विद्रोहको मूल मर्ममाथि प्रहार गर्दै सुशासनलाई धज्जी उडाउन र आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सत्ताबाहिर बस्न नचाहेर मन्त्रिपरिषद्मार्फत राष्ट्रिय सभामा मनोनित हुन सिफारिस हुनु पनि लज्जास्पद विषय हो।”

साहले प्रधानमन्त्री कार्कीले आफ्नै व्यक्तिगत सहायक आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शीताको उपहास भएको बताए।

साथै, अध्यक्ष साहले जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरेका छन्। उनी भन्छन्, “सरकार प्रमुख त्यो प्रतिवेदन सार्वजनिक गर्नुको साटो आफ्ना आसेपासेलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जाको विषय हो।”

अन्ततः साहले प्रधानमन्त्री कार्कीलाई यी दुवै निर्णय फिर्ता लिन र आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जोडदार आग्रह गरेका छन्।

प्रतिक्रिया