२७ माघ, काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नहोस् भनेर नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन्। आज सेनाको मुख्यालय जङ्गी अड्डामा भएको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विगतमा सुरक्षा संयन्त्रमा देखिएका त्रुटि वा रिक्तता अब दोहोरिन नदिन जोड दिइन्।
कार्कीले भनिन्, “निर्वाचन सुरक्षित र व्यवस्थित ढङ्गले सम्पन्न होस् भन्ने उद्देश्यले विगतका अनुभव र आगामी चुनावका सम्भावित चुनौतीहरूको विश्लेषण गर्दै सबै सुरक्षा निकायसँग मिलेर त्रुटिरहित काम गर्नुहोस्।”
सरकारले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनाले दिइएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्नेमा प्रधानमन्त्री पूर्ण विश्वस्त छिन्।
प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षित वातावरण उपलब्ध गराउने र सबै राजनीतिक दलका गतिविधि स्वतन्त्र र अवरोधमुक्त रूपमा सञ्चालन हुने सुनिश्चित गर्न अन्य सुरक्षा निकायसँग सहकार्यमा स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिइन्।