२१ माघ, काठमाडौं - काठमाडौँ प्रहरीले चोरीमा प्रयोग भएका दुई पाङ्ग्रे सवारीसाधनसहित दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार राति र बिहान गरी अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार बिहान करिब ३ बजे नियमित चेकजाँचका क्रममा चोरीको भेस्पा स्कुटरसहित एक युवकलाई समातेको हो। बूढानीलकण्ठ नगरपालिका–१३ स्थित संयुक्त बसपार्कबाट बागमती प्रदेश ०२–०२३ प ५८८० नम्बरको स्कुटर चलाइरहेका बाजुरा गौमुल गाउँपालिका–१ घर भई हाल नयाँ बसपार्क बस्ने २० वर्षीय हेमराज बोहरा पक्राउ परेका हुन्।
यस्तै, सोमबार राति नै मित्रनगर क्षेत्रबाट चोरीको मोटरसाइकलसहित अर्का एक युवक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–२६ मित्रनगर सडक किनारामा पार्किङ गरेर राखिएको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीपछि प्रहरीले खोजतलास थालेको थियो। सो क्रममा जाजरकोट शिवालय गाउँपालिका–६ घर भई मित्रनगर बस्ने २० वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार खत्रीले चोरीको मोटरसाइकल होटलको पार्किङमा नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखेका थिए। सोही स्थानबाट एउटै नम्बर प्लेट प्रयोग गरिएको अर्को मोटरसाइकलसमेत बरामद गरिएको छ।
पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन्।