६ वैशाख, काठमाडौं,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वलाई लिएर देखिएको मतभेद सतहमा आएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शमशेर राणाको आलोचनालाई लक्षित गर्दै सार्वजनिक रूपमा कडा प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै लिङ्देनले आफ्नो नेतृत्वमै पार्टी पुनर्गठन हुने स्पष्ट संकेत दिएका छन्। यसअघि महामन्त्री राणाले पछिल्लो निर्वाचनमा पार्टीले भोगेको कमजोर नतिजाको नैतिक जिम्मेवारी लिँदै अध्यक्षले पद त्याग्नुपर्ने धारणा राखेका थिए।
यही प्रसङ्गमा लिङ्देनले पार्टी तत्काल नटुट्ने र हारबाट पाठ सिकेर अघि बढ्ने बताएका छन्। “राप्रपा समाप्त हुन्छ भन्ने कल्पना नगरे हुन्छ, यो पार्टी धेरैको त्याग र संघर्षले बनेको हो,” भन्ने सन्देश दिँदै उनले चुनावी हारलाई अन्त्यको संकेतका रूपमा नलिन आग्रह गरेका छन्।
उनले अप्रत्यक्ष रूपमा नेतृत्व नछाड्ने संकेत गर्दै पार्टीभित्रका कमजोरी सुधार गरेर नयाँ ढंगले अघि बढ्ने बताए। साथै, राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र र प्रदेश खारेजी जस्ता आफ्नो मूल एजेन्डाबाट पछि नहट्ने अडान पनि दोहोर्याएका छन्।