पूर्वानुमानमै टेकेर विपद् व्यवस्थापनतर्फ सरकार

साझा लाल्टिन संवाददाता

७ पुस, काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनको दृष्टिकोण अब परम्परागत प्रतिकार्यमुखी अभ्यासबाट बाहिर निस्कँदै पूर्वानुमान र पूर्वतयारीमा आधारित प्रणालीतर्फ अघि बढिरहेको बताएका छन् ।

सोमबार आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उनले जोखिम पहिचान, समयमै पूर्वसूचना र त्यसअनुसारको पूर्वकार्यलाई संस्थागत रूपमा मजबुत बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनका अनुसार विपद् आउनु अघि गरिने पूर्वकार्य प्रभावकारी हुन तीन आधार अत्यन्तै महत्त्वपूर्ण छन्— जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान प्रणाली र प्रभावमा आधारित पूर्वसूचना । यी तीन तत्व आपसमा जोडिएर काम गर्न सके मात्र क्षतिलाई न्यूनिकरण गर्न सकिने उनले बताए ।

गृहमन्त्री अर्यालले पूर्वसूचना जारी भएसँगै तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र संकटको समयमा प्रयोग हुने श्रोत–साधन पहिल्यै व्यवस्थापन गरिनु अनिवार्य रहेको उल्लेख गरे । यसले विपद्का बेला ढिलासुस्ती बिना छिटो निर्णय र प्रभावकारी कार्यान्वयन सम्भव बनाउने उनको भनाइ छ ।

नेपाल बहुप्रकोपिय जोखिमयुक्त मुलुक भएको उल्लेख गर्दै उनले बाढी, पहिरो, भूकम्पलगायतका सम्भावित विपद् सामना गर्न पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ व्यापक र दीगो बनाइने प्रतिबद्धता दोहोर्याए ।

प्रतिक्रिया