एनआईसी एसिया बैंकभित्र ऋणीको आत्मदाह प्रयास, लिलामीले धकेल्यो आगोसम्म

साझा लाल्टिन संवाददाता

२१ पुस, काठमाडौं - सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै ऋणपीडित एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बैंकिङ प्रणालीको निर्दय व्यवहारले मान्छे कति असहाय बन्छ भन्ने डरलाग्दो दृश्य आइतबार इटहरीमा देखियो।

इटहरी–८ का लालबहादुर पौडेल पेट्रोल बोकेर बैंक कार्यालय पुगे र आफ्नै शरीरमा छर्किन खोजे। क्षणभरमै स्थिति भयावह बन्दै जाँदा बैंक कर्मचारी र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियान का सदस्यले उनलाई रोकेर ठूलो दुर्घटना टारे।

पौडेलले इटहरीकै व्यवसायी गंगाराम साह तेलीको आग्रहमा झापामा मदिरा उद्योग खोल्ने नाममा आफ्नो जग्गा साढे दुई करोड रुपैयाँमा धितो राखिदिएका थिए। सहमतिअनुसार न त ब्याज आयो, न किस्ता तिरियो बरु बैंकले सिधै लिलामीको डण्डा चलायो।

सबै सकियो, जग्गा जान लाग्यो, जीवन पनि अर्थहीन भयो, भन्दै पौडेलले तनावले आफूलाई आगो लगाउन बाध्य बनाएको बताएका छन्। बैंकले बोलाएपछि उनी प्रसाईँ समूहका केही कार्यकर्तासहित बैंक पुगेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बैंक परिसरमै आत्मदाहको प्रयास भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया