कार्कीको सुरक्षा कडा, सेनाको ब्यारेकमा सार्ने निर्णय

साझा लाल्टिन संवाददाता

काठमाडौँ - भदौ २३ र २४ गते भएको प्रदर्शन तथा विध्वंस घटनाको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षा व्यवस्था कडा पारिएको छ । आयोग अध्यक्ष कार्की र उनको निवासको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरी बलको संख्या बढाइएको स्रोतले जनाएको छ ।

आज साँझ गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको थियो । बैठकमा कार्कीको सुरक्षाका लागि आवश्यक परे सेनाको ब्यारेकमा सार्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार, कार्कीलाई सुरक्षाका लागि सेनाको ब्यारेकमा लैजाने निर्णयसम्म भएको थियो । त्यसअनुसार सेनाको टोली उनको निवास पुगेको भए पनि कार्कीले तत्काल ब्यारेकमा नजाने जवाफ दिएका छन् । उनले आवश्यक परे पछि खबर गर्ने बताएका छन् ।

कार्की भक्तपुरको गुण्डु निवासी हुन् । बिहान पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विकसित अवस्थालाई ध्यानमा राख्दै कार्कीको घर वरपर सुरक्षा सतर्कता थप कडा बनाइएको हो ।

यसैबीच, नेकपा एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेपछि सुरक्षा निकायहरू थप सतर्क बनेका छन् ।

प्रतिक्रिया