देउवाको स्पष्ट सन्देशः चुनावभन्दा पहिले महाधिवेशन हुँदैन

साझा लाल्टिन संवाददाता

१५ पुस, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी प्रक्रियामा मुलुक प्रवेश गरिसकेको अवस्थामा विशेष महाधिवेशन असम्भव भएको स्पष्ट पारेका छन् । उनले चुनावअघि महाधिवेशन गरिए पार्टीभित्र गम्भीर मतभेद र विभाजन उत्पन्न हुने चेतावनी दिएका छन् ।

केही सञ्चारकर्मीहरूसँगको दुई घण्टे अनौपचारिक छलफलमा सभापति देउवाले पार्टीको सम्पूर्ण ध्यान निर्वाचन जित्न केन्द्रित हुनुपर्ने बताए । महाधिवेशन जस्ता आन्तरिक प्रतिस्पर्धाले चुनावी अभियान नै कमजोर बनाउने उनको भनाइ छ ।

‘चुनावको मुखमा महाधिवेशन गर्नु भनेको पार्टीभित्र द्वन्द्व निम्त्याउनु हो,’ देउवाले भने, ‘महाधिवेशनमा हार्नेहरू चुनावमा हार्न चाहँदैनन्, तर अन्ततः चुनाव पनि हराउँछन् ।’

विशेष महाधिवेशनको मागप्रति असन्तुष्टि व्यक्त गर्दै देउवाले चुनावअघि त्यस्तो सम्भावना नरहेको पुनः दोहोर्‍याए । उनले कार्यवाहक व्यवस्था गरिसकेको उल्लेख गर्दै महाधिवेशन उपयुक्त समय चुनावपछिमात्र हुने धारणा राखे ।

‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन,’ देउवाले थपे, ‘महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव नमान्ने हो भने म के गर्न सक्छु ?’


प्रतिक्रिया