६ पुस, काठमाडौं - सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन्।
थुनाबाहिर बस्न पाउँ भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्ला अदालतमा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
जोशी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा थिए।
उक्त प्रकरणमा उनीसँगै थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भने यसअघि नै पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो।
21 December 2025