संघीयता बहिष्कारबाट ‘मधेशी’ अवतारसम्म: चुनावी मैदानमा बालेन साहको दोहोरो राजनीति

साझा लाल्टिन संवाददाता

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका बालेन्द्र साह (बालेन) ले चुनावी अभियानका क्रममा मधेशलाई केन्द्रमा राखेर दिएको अभिव्यक्तिले तीव्र राजनीतिक तरंग सिर्जना गरेको छ। माघ ५ गते जनकपुर पुगेर उनले आफूलाई ‘मधेशीको छोरा’ भन्दै संघीयता बलियो बनाउनुपर्ने धारणा राखे।


‘म पनि मधेशीको छोरा हुँ, अब काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन,’ भन्दै बालेनले जनकपुरमा भनेका थिए, ‘जनकपुरको प्रशासकीय अधिकृत माग्न काठमाडौँ जान नपरोस्, त्यसैले संघीयतालाई बलियो बनाउनुपर्छ।’

तर बालेनको यो अभिव्यक्ति उनका विगतका राजनीतिक व्यवहारसँग ठोक्किएको देखिन्छ। २०७९ सालको निर्वाचनमा संघीयताको एउटा मुख्य आधार मानिने प्रादेशिक तहको निर्वाचन बहिष्कार गर्दै मतदान नगरी केन्द्रबाट बाहिरिएका उनै साह अहिले मधेशी समुदायको सहानुभूति बटुल्न संघीयताको ‘आड’ लिइरहेको आरोप लाग्न थालेको छ।

यो विषयले मधेश केन्द्रित दलहरूलाई थप सचेत बनाएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालेनको गतिविधिले मधेशको पहिचान नै जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

‘यहाँ घण्टा, घण्टी केही छैन, ऊ मधेशी भयो कहिले?’ यादवले कडा प्रश्न गर्दै भने, ‘कहिल्यै मधेशका लागि आवाज उठाए? मधेशको संस्कृति, जीवनशैली अनुसार चले?’

यादवले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेनले मधेशी समुदायका हजारौँ कवाड व्यवसायीहरूलाई विस्थापित बनाएको आरोप समेत लगाएका छन्। ‘त्यस्तो पृष्ठभूमि भएको व्यक्तिले आफूलाई मधेशी भन्न पनि लाज मान्नुपर्छ,’ यादवको टिप्पणी छ।

छठ पर्वका क्रममा मधेशी समुदायलाई रानीपोखरी प्रवेशमा गरिएको रोकको विषय उठाउँदै यादवले भने, ‘मधेश कुनै जाति होइन, यो एउटा संस्कृति र समुदाय हो। चुनावको बेला देखिने यस्ता हाइहुइहरू आउँछन् र जान्छन्।’

लोकप्रियताको आवरण ओढेर समाजलाई भ्रमित गर्न आउने कथित सेलिब्रेटी राजनीतिबाट सतर्क रहन उनले जनतालाई आग्रह गरेका छन्। चुनावी स्वार्थका लागि पहिचान र आन्दोलनको भाषा प्रयोग गरिँदा मधेशको वास्तविक मुद्दा ओझेलमा पर्ने खतरा रहेको उनको चेतावनी छ।

संघीयता बहिष्कार गर्ने अघिल्लो भूमिकादेखि अहिले संघीयताको वकालतसम्म आइपुगेका बालेन साहको यो राजनीतिक ‘यु–टर्न’लाई धेरैले सैद्धान्तिक परिवर्तनभन्दा बढी चुनावी रणनीति का रूपमा हेर्न थालेका छन्।

प्रतिक्रिया