काठमाडौं १ भदौ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्।
इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका हुन्।
‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आरजु देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन’, शाहीले लेखेका छन् ।
उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन्।
शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना गर्दै उनीहरूसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।