नेपाली क्रान्तिको दिशाको कठोर समीक्षा र आगामी दिशा सुस्पष्ट रुपमा निर्धारण गर्नको लागि गम्भीर बन्नुपर्छ । किनकि नेपाली क्रान्तिको प्रश्न निकै गम्भीर बन्दै आएको छ । प्रतिक्रान्तिको हावाहुरीले कम्युनिस्ट धाराहरु लछारपछार बनाएको छ । नेपाली क्रान्तिको दशा र आगामी सुस्पष्ट दिशा निर्धारण आजको युगीन र ऐतिहासिक आवश्यकता हो । यस स्थितिमा क्रान्तिको कुरा गर्नु सजिलो छ, तर त्यसको निर्मम समीक्षा गर्न अप्ठ्यारो छ । अझै व्यावहारिक कार्यान्वयन त निकै गाह्रो छ । साथै, क्रान्तिको दिशा निर्धारण नगरी खोक्रो आदर्श अवसरवादको पराकाष्ठा बन्छ । यस स्थितिमा प्रतिक्रान्तिको हावाहुरीले सम्पूर्ण क्रान्तिकारी सिद्धान्त, विचार, मूल्यमान्यता, आस्था र संगठनात्मक संरचना तहसनहस पारिरहेको छ । अब सिद्धान्त, रणनीति तथा संगठनको नयाँ र वैज्ञानिक रूपान्तरण अपरिहार्य बनेको छ । प्रश्न क्रान्ति “हुन्छ कि हुँदैन” भन्ने होइन, क्रान्ति त अवश्यम्भावी छ । बरु कसरी र कहिले गर्ने ? प्रश्न यो हो । त्यसैले वस्तुस्थितिको ठोस विश्लेषण गरी स्पष्ट मार्गरेखा खिच्न आवश्यक छ । अन्यथा, क्रान्तिको नाममा भइरहेको हल्ला र भ्रमले प्रतिक्रान्तिलाई बल पुर्याउँछ । त्यस प्रकारको कृत्रिम क्रान्तिकारीताको प्रदर्शनीका विरुद्ध कठोर संघर्ष गर्नैपर्छ ।
नेपालमा लामो समयदेखि वैदेशिक उत्पीडन थोपर्ने काम भएको छ । सन् १८१६ मा इष्टइण्डिया कम्पनी र नेपालबीच सुगौली सन्धि गरियो । त्यस समयदेखि नै नेपाल अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक अवस्थामा रहिआएको छ । त्यो नेपाल र नेपालीको अहितमा मात्र थिएन । बरु एक वैदेशिक उत्पीडनको डरलाग्दो उपनिवेशिक तरबार थियो । यसरी साम्राज्यवादी उपनिवेशको साङगोलोमा बाँधिनु दुर्भाग्यपूर्ण कुरा हो । यसैगरी पछिल्लो चरणमा नेपाल अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक र नव-औपनिवेशिक अवस्थामा पुग्यो । अर्थात् दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् नेपाल नव-औपनिवेशिक चक्रव्यूहमा फस्यो । यसरी नेपाल जस्तो अविकसित मुलुकमा सामन्तवाद र साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको प्रक्रियाद्वारा नयाँ जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा पुग्ने उद्देश्य थियो । यो महान उद्देश्य प्राप्त गर्न नेपालमा अनेकौं जनसंघर्ष तथा वर्गसंघर्ष र सशस्त्र संघर्षहरु भए । यसको ऐतिहासिक उत्कर्षमा जनयुद्ध पनि भयो । परन्तु, सार्थक चाहिँ भएन । सार्थक नहुनुमा मुख्य नेतृत्वको आत्मसमर्पणवादी गद्दारी नै सर्वाधिक जिम्मेवार छ ।
विश्व इतिहासमा जब कम्युनिस्ट आन्दोलन पराजित भयो, तब पूँजीवादको पुनर्स्थापना भई प्रतिक्रान्ति नै हावी छ । वस्तुतः विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा छ । यो अस्थायी कुरा हो । परन्तु, सर्वहारा वर्गीय क्रान्तिको स्थायी पराजय किमार्थ होइन । यसरी क्रान्तिको विज्ञान तथा सर्वहारा वर्गको मुक्ति दर्शन माक्र्सवाद-लेनिनवाद-माओवाद विकसित हुन्छ । यो असफल हुँदैन । तर, संशोधनवादीहरुले भ्रम सिर्जना गर्दै आएका छन् । उनीहरू माओवादी बदनाम भयो भन्दै अब माओवादी विचारले काम गर्दैन भन्ने सवालहरु खडा गरेर विज्ञानका विरुद्ध प्रहार गर्दै आएका छन् । यो संशोधनवादीहरुको धर्म नै हो । परन्तु, असफल त संशोधनवादीहरु भए । उनीहरू नै संकटग्रस्त वा संक्रमित छन् । मालेमावाद विज्ञान हो । यो संकटहरुबाट पराजित वा विसर्जन हुने विज्ञान होइन, अपितु संकटमोचन गर्ने विज्ञान हो । यो जतिसुकै संकटहरु आउछन् त्यसैको बीचबाट धारिलो बन्दै जान्छ । यो नै सत्य हो ।
नेपाली समाजमा सञ्चालन गरिएका विगतका क्रान्तिहरुको सन्दर्भमा घोत्लिनुपर्ने समय आएको छ । यसको सिंहावलोकन गर्नुपर्छ । यसरी गहन समीक्षा नगरी अगाडि बढ्न सकिदैन । क्रान्तिको कुरा गर्ने तर क्रान्ति नगर्ने प्रवृत्ति निकै हावी छ । यो अझै घातक प्रवृत्ति हो । किनभने यस प्रवृत्तिले क्रान्तिकारी विचार विकृत पार्छ, जनतामा भ्रम सिर्जना गर्छ र क्रान्तिकारीहरुलाई अन्योलमा राख्छ । यो अकर्मण्यतावादी प्रवृत्तिले एकातिर क्रान्तिकारीहरुलाई क्रान्तिको सूत्र जप्न लगाएर क्रान्तिकारी आन्दोलन यथास्थितिमा राख्दै आएको छ । अर्कोतिर संसदीय गोलचक्करमा फन्को मार्ने र उनै प्रतिक्रियावादीहरुलाई सहयोग पुर्याउने काम गरेको छ । यस प्रकारको प्रवृत्तिबाट सचेत रहनुपर्छ । यतिबेला कुरा वर्गसंघर्षको मात्र कुरा गरेर हुँदैन, अब सर्वहार वर्गको अधिनायकत्वको सार पक्रिनुपर्ने हुन्छ । यदि क्रान्ति नै गर्ने हो भने भौतिक जीवन र निजी स्वामित्वको अन्त्य गर्न सक्नुपर्छ । अन्यथा सर्वहारा वर्गप्रति अपराध हुन्छ ।
नेपाली धर्तीमा संचालन गरिएका र संचालनमा रहेका संघर्ष र क्रान्तिहरुले मुलतः निम्न प्रकारका अनुभव तथा शिक्षाहरु प्रदान गरेका छन् । ती हुन्- पहिलो, जनताको विद्रोहात्मक चेत फुटेको र आलोचनात्मक चेतमा रुपान्तरण हुने प्रक्रियासम्म पुगेको छ । यो विगतका आन्दोलनहरुले दिएको महान शिक्षाको परिणाम हो । दोस्रो, सामान्यतया आर्थिक तथा सामाजिक र राजनीतिक क्षेत्रमा आंसिक सुधार भएको छ । यसले परिवर्तन सम्भव छ र क्रान्ति गर्नुपर्छ भन्ने चेतना दिएको छ । तेस्रो, नेपाली क्रान्तिको चक्र क्रान्ति, प्रतिक्रान्ति र फेरि क्रान्ति तथा बर्बरतापूर्ण प्रतिक्रान्तिको चक्रव्यूहमा फस्तै गएको यथार्थ हो । चौथो, जनताको विद्रोहले राज्यसत्ता तथा व्यवस्था विघटन वा खारेजको निकट पुग्ने र फेरि शासकहरु शासन व्यवस्थाका नाम परिवर्तन गरी पुरानै व्यवस्थाको सार यथावत राख्दै आएका छन् । पाँचौ, यथास्थितिमा क्रमभंग गर्ने कुरा जनयुद्धले गर्ने सम्भावना थियो । परन्तु, मुख्य नेतृत्वमा पैदा भएको दक्षिणपन्थी संशोधनवादी विचलनका कारण जनयुद्ध विसर्जन गरियो । यसरी प्रतिक्रान्ति हावी भयो । उक्त प्रतिक्रान्ति रोक्न पछिल्लो नेतृत्व पनि सक्षम भएन । जनताले गरेको उच्च त्याग, वीरता र बलिदानप्रति कुठाराघात गरियो । यसमा सबै जिम्मेवार छन् ।
नेपालमा क्रान्ति सम्पन्न भएको छैन । क्रान्तिकारी आन्दोलन त भए । परन्तु, क्रान्तिहरु असफल भए र प्रतिक्रान्तिले जित्यो । प्रतिक्रान्ति हावी नै छ । यसले वर्चस्व कायम गरेको स्थितिमा इतिहासका अनुभव र शिक्षाहरुबाट पाठ सिक्नुपर्ने हुन्छ । किनभने इतिहासका अनुभव र विद्यमान युगका आवश्यकताहरु ग्रहण नगरी क्रान्ति सम्पन्न गर्न सकिदैन । यसर्थ कुनै पनि क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी सिद्धान्त चाहिन्छ । यसका अतिरिक्त त्यसलाई लागुगर्ने कम्युनिस्ट पार्टी आवश्यक हुन्छ । यतिबेला नेपालमा सिद्धान्तको थप विकाससँगै कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने छ । यसका साथसाथै पुरा गर्नुपर्ने कार्यभारहरु थुप्रै छ । त्यस प्रकारका कार्यभारहरु हाम्रा सामू खडा छन् । यस स्थितिमा हाम्रो दिमाग हलुँगो बनाउनु हुँदैन । उक्त कार्यभार उठाउदै गर्दा विश्वस्थितिलाई ध्यानमा राख्नुपर्छ । बहुध्रुवीय विश्व व्यवस्था अन्तर्गत नेपाल अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक र नव-औपनिवेशिक अवस्थामा मात्र रहेन बरु प्रत्यक्ष उपनिवेशको स्थितिमा पुगेको छ । यो स्थितिमा क्रान्तिकारी सिद्धान्तको विकाससँगै थुप्रै समस्याहरु पनि निरुपण गर्नुपर्ने हुन्छ ।
देशको अर्थ-सामाजिक स्वरुप तथा विद्यमान प्रधान अन्तरविरोधको आधारमा क्रान्तिको दिशा तय गरिन्छ । यसैगरी नेपालको सन्दर्भमा यतिबेला निम्न पक्षमा विशेष ध्यान दिन जरुरी छ । ती हुन्- प्रथमतः नेपाली समाजको स्वरुप । यतिबेला नेपाली समाज अर्थ-सामन्ती तथा अर्ध-औपनिवेशिक र नव-औपनिवेशिक स्थितिमा मात्र रहेन । बरु प्रत्यक्ष उपनिवेशको नियन्त्रणमा पुग्यो । यो नेपाली समाजको अर्थ-सामाजिक स्वरुपको प्रश्न हो । द्वितीय, नेपाली समाजको अन्तर्विरोध भूमण्डलीकृत पूँजीवादी साम्राज्यवाद तथा दलाल पूँजीवादसँग नेपाल राष्ट्र र नेपाली जनताबीचको अन्तरविरोध प्रधान बनेर आएको छ । यस स्थितिमा राष्ट्रिय मुक्ति क्रान्तिको दिशा निर्धारण गर्नुको विकल्प छैन । तृतीय, राष्ट्रिय स्वाधीनतको प्रश्न गम्भीर बनेको छ । यस स्थितिमा देशभक्त, क्रान्तिकारी र कम्युनिस्टहरुको बीचमा एउटा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय मुक्तियुद्ध घोषणा अपरिहार्य छ । चतुर्थ, यसको लागि ग्रामीण ईलाकाबाट छापामार संघर्षको उठान गरेर मात्र कार्यान्वयन सम्भव छ । यो नै यतिबेलाको नेपाली क्रान्तिको सही दिशा हो ।
अन्तत: आज विश्वको मूल प्रवृत्ति ध्रुवीकरणको छ । यो सर्वत्र लागु हुन्छ । मुलतः समाज र पार्टीहरुमा अझै तीव्र छ । यस स्थितिमा नेपाली समाज र कम्युनिस्ट आन्दोलन पनि यसको अपवाद हुन सक्दैन । यसरी क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया बाट कम्युनिस्ट निर्माण गर्न सर्वप्रथम त महान बहस गर्नुपर्छ । त्यो बहसले विचारको विकास वा संश्लेषण गर्नेछ । नयाँ संश्लेषणले क्रान्तिकारी आन्दोलनको सृष्टि गर्छ । त्यसै स्थितिबाट नेतृत्व जन्मन्छ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको दिशाले महत्त्वपूर्ण कार्यभार पुरा गर्नेछ । ती कार्यभारहरु निम्न रुपले प्रस्तुत गर्न सकिन्छ- प्रथमतः वैदेशिक उत्पीडनको अन्त्य । द्वितीय, जनवादी कार्यभार पुरा गर्नेछ । तृतीय, समाजवादी क्रान्तिको ऐतिहासिक प्रक्रियामा अगाडि बढाउनेछ । चतुर्थ, साम्यवादी गन्तव्यको आधार तयार पार्नेछ । यसको सही ग्रहण र प्रयोग नै युगकै ऐतिहासिक आवश्यकता हो ।