२७ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
रवि लामिछानेले चितवन–२ बाट निर्वाचित भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगले तोकेको निर्वाचन आचारसंहिता अनुसार चुनावी खर्चको विवरण पेश गरेका हुन् । उनका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणअनुसार चुनावमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
त्यसअघि झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन शाहले पनि आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । उनले निर्वाचनमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।
निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो चुनावी खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।