१४ पुस, काठमाडौं - भदौ २३ गते भएको जेन जी आन्दोलनका क्रममा आन्दोलनमा योजनाबद्ध रूपमा घुसपैठ भएको तत्कालीन गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन् । जेन जी आन्दोलन शान्तिपूर्ण र असल नियतले सुरु भए पनि पछि गएर आन्दोलन हाइज्याक भई हिंसात्मक बनेको उनको भनाइ छ ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिएपछि काँग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले प्रदर्शन सुरु भएलगत्तै घुसपैठ बढ्दै गएर अवस्था नियन्त्रणबाहिर पुगेको बताए ।
उनका अनुसार भदौ २४ गते भएको विध्वंस पूर्वनियोजित र योजनाबद्ध थियो । साथै, २३ भदौको प्रदर्शनसमेत घुसपैठकै कारण हिंसात्मक बन्न पुगेको उनको दाबी छ ।
लेखकले जेन जी आन्दोलनमा सहभागीहरूको सुरुवाती उद्देश्य सही भए पनि पछि केही समूहको संगठित प्रवेशले आन्दोलनको स्वरूप परिवर्तन भएको बताएका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।