२९ फागुन,काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य लाई पदमुक्त गर्दै साधारण सदस्य बनाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार उनीहरुलाई पार्टीभित्रको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको हो।
तर, पदमुक्तिको कारण भने खुलाइएको छैन। कतिपयले यसलाई आगामी चुनावसँग जोडेर हेरेका छन्। सामाजिक सञ्जालमा राप्रपा कार्यकर्ताले चुनावमा अन्तर्घात गरेको आरोपलाई आधार बनाएर उनीहरुको पदमुक्ति गरिएको भनिरहेका छन्।
यद्यपि, पार्टीका अर्का नेताको दाबी छ कि लिङ्देनको यो निर्णय चुनावसँग सम्बन्धित नभई महाधिवेशनमा ढिलाइ भएको प्रक्रियासँग जोडिएको छ। लिङ्देनसहित केन्द्रीय पदाधिकारीको कार्यकाल चार महिना अघि सकिएको थियो। पार्टी विधान अनुसार, गत पुसमै महाधिवेशन गर्नुपर्ने थियो, तर लिङ्देनले प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) लाई आधार बनाएर महाधिवेशन झन्डै ६ महिना पछि सार्ने निर्णय गरेका थिए।
पार्टी भित्र पछिल्लो समय लिङ्देनको व्यक्तिगत निर्णयका कारण कलह बढ्दै गएको छ। आउँदो जेठमा महाधिवेशन हुने तयारी छ।