२७ फागुन,काठमाडौं - पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले सडक र फुटपाथमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै मेयर आचार्यले यस्तो गतिविधिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। उनले सांसद वा मन्त्री भइसकेको व्यक्तिले सडकमा उभिएर पुस्तक बेच्नु उपयुक्त नदेखिने टिप्पणी पनि गरेका छन्।
आचार्यले सांसदको मुख्य भूमिका देशका लागि नीति तथा कानुन निर्माण गर्ने भएको स्मरण गराउँदै पुस्तक बिक्री वितरण व्यवसायीको जिम्मेवारी फरक हुने बताएका छन्।
उनले पुनले पुस्तक उपलब्ध गराएमा पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गराएर उचित भुक्तानी उपलब्ध गराउन सकिने प्रस्ताव पनि गरेका छन्। यसरी बिक्री गर्दा पारदर्शिता कायम हुने र करसम्बन्धी प्रश्नहरूको सहज जवाफ दिन सकिने उनको भनाइ छ।
म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित पुन हाल आफ्नै पुस्तक बिक्रीका लागि विभिन्न स्थानमा पुगिरहेका छन्। यसक्रममा केही दिनअघि पुस्तक बिक्रीकै क्रममा उनी र केही व्यक्तिबीच विवादसमेत भएको थियो। ‘कानुन बनाउनुपर्ने व्यक्ति किताब बेच्न हिँडेको’ भन्दै सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ।