काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले फागुन २० र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई खुला रूपमा बहिष्कार गर्ने घोषणा गर्दै प्रतिक्रियावादी सत्तालाई सीधै चुनौती दिएको छ । दलाल पूँजीवादी र साम्राज्यवादी स्वार्थमा चलेको वर्तमान संसदीय व्यवस्था जनताको होइन, लुटेराहरूको सेवा गर्ने संयन्त्र भएको भन्दै माओवादीले यो चुनावलाई “जनविरोधी नाटक” को संज्ञा दिएको छ ।
पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा दुई दिने नेपाल बन्द सफल पार्न सबै देशभक्त, क्रान्तिकारी र न्यायप्रेमी जनसमुदायलाई सडकमा उत्रिन आह्वान गरिएको छ । विज्ञप्तिमा भनिएको छ— दलाल सत्ताले राष्ट्रलाई विदेशीको कठपुतली बनाइसकेको छ, राष्ट्रिय स्वाधीनता धरापमा परेको छ र भ्रष्टाचार, महँगी तथा बेरोजगारी चरम सीमामा पुगेको छ । यस्तो अवस्थामा हुने चुनाव जनताको समस्या समाधान होइन, लुटतन्त्रलाई वैधता दिने षड्यन्त्र मात्र हो ।
माओवादीले जनताको नाममा गरिने यो “ढोंगी लोकतन्त्र” लाई अस्वीकार गर्दै बहिष्कारलाई क्रान्तिकारी दायित्वको रूपमा अघि सारेको छ । पार्टीले चेतावनी दिएको छ— यदि सत्ताले दमन र धरपकडको बाटो समायो भने त्यसको कडा प्रतिरोध गरिनेछ ।
विज्ञप्तिमा थप भनिएको छ— साम्राज्यवाद र विस्तारवादको दलाल बनेका शक्तिहरूलाई सबक सिकाउन अब जनताले मतदान बहिष्कारमार्फत सडकबाटै फैसला गर्नुपर्ने समय आएको छ । फागुन २० र २१ गते सम्पूर्ण व्यापार–व्यवसाय बन्द गर्न, यातायात ठप्प पार्न र चुनावी गतिविधि अवरुद्ध गर्न पार्टीले आह्वान गरेको छ ।
माओवादीले आफूहरू वैकल्पिक राजनीतिक मार्गसहित अगाडि बढ्ने स्पष्ट पार्दै “यो बहिष्कार केवल विरोध होइन, नयाँ जनवादी परिवर्तनको सुरुआत हो” भन्दै सत्तालाई खुला चुनौती दिएको छ ।