३ फागुन,काठमाडौं - केपी शर्मा ओली आज झापा प्रवेश गर्दैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार हुन् । उनको आगमनलाई लक्षित गर्दै भद्रपुर विमानस्थल क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
विमानस्थल प्रवेशमा कडा निगरानी राखिएको छ । हवाइ टिकट भएका यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ भने सुरक्षाकर्मीहरू उच्च तयारी अवस्थामा खटिएका छन् ।
यता, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने विमानस्थल सुरक्षामा कडाइ गरिएको विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताएका छन् ।
ओलीको आगमनसँगै जिल्लामा राजनीतिक गतिविधि तीव्र बनेको छ भने सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन विशेष रणनीति अपनाएको जनाएको छ ।
15 February 2026