१० फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। पार्टी परित्याग गरेका डा. प्रणय राणाले नेतृत्वमाथि हस्ताक्षर संकलन अभियानबाट उठेको चन्दाको रकम सार्वजनिक नगरी ‘गायब’ बनाएको आरोप लगाएका छन्।
राणाका अनुसार, सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै असार पहिलो सातादेखि देशव्यापी हस्ताक्षर तथा चन्दा संकलन अभियान सुरु गरिएको थियो। करिब दुई महिनासम्म चलेको उक्त अभियानबाट ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइए पनि त्यसको आधिकारिक विवरण सार्वजनिक नगरिएको उनको दाबी छ।
“हस्ताक्षर अभियानका नाममा उठेको लाखौँ रुपैयाँको कुनै पारदर्शी हिसाब छैन,” राणाले आरोप लगाएका छन्, “पार्टीभित्रै आर्थिक अनियमितताको गन्ध आएको छ।”
उनले यसअघि उम्मेदवार छनोट प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाएका थिए। प्राइमरी इलेक्शनको नाममा सयौँ आकांक्षीबाट शुल्क उठाइएको तर स्पष्ट प्रक्रिया र पारदर्शिता नदेखिएको उनको भनाइ छ। उठाइएको रकम फिर्ता नगरे त्यसलाई ‘ठगी’ मान्नुपर्ने उनको निष्कर्ष छ।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका राणा हालै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी छाडेपछि उनले सार्वजनिक रूपमा नेतृत्वको कार्यशैली र आर्थिक व्यवस्थापनमाथि तीखा टिप्पणी गरिरहेका छन्।
उता, पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। आरोप–प्रत्यारोपबीच उठेको चन्दाको वास्तविक अवस्था र हिसाब सार्वजनिक हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ।