कैलाली–५ मा चुनावी सरगर्मी बढ्दो, प्रेमबहादुर आले घरदैलोमा व्यस्त

साझा लाल्टिन संवाददाता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।

यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन । कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेता आले पछिल्ला केही हप्तादेखि गाउँ–गाउँ, टोल–टोल र बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन ।

घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिइरहेको सचिवालयले जनाएको छ । कार्यकर्ता भेटघाट, जनसंवाद, अन्तरक्रिया तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै उनी चुनावी अभियानमा सक्रिय देखिएका छन ।

विगतमा सरकारमा रहँदा गरेका विकास निर्माणका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले आगामी कार्यकालका स्पष्ट योजनासमेत सार्वजनिक गरेका छन । उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छ ।

त्यसैगरी धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने, जिरो प्वाइन्ट–खुटिया–दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म रणनीतिक सडक निर्माणलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारेका छन् ।

“धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” नेता आलेले भने, “यी काम पूरा गर्नकै लागि म पुनः जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”

आगामी निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख दलहरूबाट नेपाली कांग्रेस का नरनारायण शाह (मनु), नेकपा (एमाले) का यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्द उम्मेदवार रहेका छन ।

यस क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ । डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बनेका हुन । उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित भएका थिए ।

कैलाली–५ मा विकास, अनुभव र प्रतिबद्धताको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका नेता आलेले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै लगेका छन् ।

प्रतिक्रिया