काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारी सम्बन्धी मुद्दाको सिलसिलामा वीरगञ्ज पुगेका कारण समयमै चितवन पुग्न नसकेपछि उनले प्रतिनिधि पठाएर उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले बताए ।
भुषालका अनुसार लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस अधिकार दिएका थिए । सोही अधिकारका आधारमा ज्ञवालीले निर्वाचन कार्यालयमा पुगेर उनको उम्मेदवारी दर्ता गराएकी हुन् ।
लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारीमा थिए । तर, समय अभावका कारण प्रत्यक्ष उपस्थित हुन नसकेपछि कानुनी प्रक्रियाअनुसार वारेसमार्फत नै दर्ता गरिएको जिल्ला सभापति भुषालले जानकारी दिए ।
यससँगै रवि लामिछाने तेस्रोपटक चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रास्वपाले उनलाई पुनः सोही क्षेत्रबाट मैदानमा उतार्दै चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ ।