रवि कमजोर, बालेन शक्तिशाली ? घन्टीभित्र नेतृत्व उल्ट्याउने सम्झौता

साझा लाल्टिन संवाददाता

११ पुस, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध गराउने प्रयास निर्णायक मोडमा पुगेको छ। स्रोतका अनुसार कुनै आकस्मिक अवरोध नआए आजै दुवै पक्षबीच सहमति टुंगिन सक्ने सम्भावना उच्च छ।

रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच भएको दुई चरणको प्रत्यक्ष संवादपछि वातावरण सकारात्मक बनेको हो। सहमतिको खाका तयार पार्ने जिम्मेवारी रास्वपाका असिम साह, उनका दाइ आसिफ साह तथा बालेनका निकट सहयोगी कुमार व्यञ्जनकारले सम्हालिरहेका छन्। यी तीनै जना प्रारम्भदेखि नै रवि–बालेन मिलाउन लागी परेका थिए।

सहमतिको विस्तृत विषयवस्तु गोप्य राखिएको भए पनि बालेनलाई भावी प्रधानमन्त्रीको मुख्य दाबेदारका रूपमा अघि सार्ने समझदारी हुन लागेको स्रोतको दाबी छ। अदालतमा विचाराधीन मुद्दाका कारण रवि लामिछाने तत्काल प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेकाले वैकल्पिक नेतृत्वका रूपमा बालेनलाई अघि बढाउन उनी सकारात्मक देखिएको बताइएको छ।

पार्टीभित्र बालेनले औपचारिक पदको माग नगरे पनि सभापति पछिको वरीयतामा रहने अपेक्षा गरिएको छ। हाल रास्वपामा उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन्।

बालेनको प्रवेशसँगै विभिन्न वैकल्पिक शक्ति र जेन–जी समूहहरू पनि रास्वपामा समाहित हुने दाबी गरिएको छ। उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ बालेनसँग निरन्तर संवादमा छन्। उज्यालो नेपाललाई रास्वपामा मर्ज गर्ने विषयमा छलफल भए पनि अन्तिम सहमति भने बाँकी नै छ। यसका लागि रवि र कुलमानबीच प्रत्यक्ष वार्ता हुनुपर्ने अवस्था छ।

यसैबीच, सुधन गुरुङ, रक्षा बमलगायतका जेन–जी अभियन्तासँग पनि बालेनले परामर्श गरिसकेका छन्। उनीहरू पनि बालेनसँगै रास्वपामा आवद्ध हुने तयारीमा रहेको स्रोतको भनाइ छ। यद्यपि, श्रम संस्कृति पार्टी गठन गरेर चुनावको तयारीमा रहेका हर्क साम्पाङलाई मिलाउने प्रयास भने हालसम्म सफल हुन सकेको छैन।

आगामी आमनिर्वाचनमा बालेन रास्वपाको चुनाव चिह्न ‘घन्टी’बाट उम्मेदवार बन्ने निश्चित जस्तै छ। उनी कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने टुंगो नलागे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेको चर्चा छ।

उम्मेदवार छनोटमा बालेनलाई कति हिस्सेदारी दिने भन्ने विषय पनि सहमतिका मुख्य एजेन्डामध्ये एक बनेको छ। समानुपातिकतर्फ बन्द सूची बुझाउने समयसीमा तीन दिन मात्रै बाँकी रहेकाले दुवै पक्ष तीव्र समयचापमा छन्।


प्रतिक्रिया