४ पुष, काठमाडौं - पोखरा महानगरपालिकामा कर्मचारी अभावको असर सेवा प्रवाहमा प्रत्यक्ष देखिन थालेको छ । यसैको उदाहरण बनेका छन् पोखरा महानगरपालिका–१२ का वडा अध्यक्ष सन्तोष बास्तोला, जो पछिल्लो एक महिनादेखि आफ्नै वडा कार्यालयको राजस्व शाखामा बसेर सेवाग्राहीको विवरण कम्प्युटरमा इन्ट्री गरिरहेका छन् ।
सामान्यतया वडा अध्यक्षहरू नीति, योजना, समन्वय र अनुगमनमा केन्द्रित हुन्छन् । तर कर्मचारी नहुँदा राजस्व संकलन नै प्रभावित हुने अवस्था आएपछि वडा अध्यक्ष बास्तोला आफैँ सेवा प्रवाहको अग्रपंक्तिमा उभिएका हुन् ।
राजस्व शाखामा कार्यरत कर्मचारी हरिकला वाग्ले सेवाकालीन तालिममा गएपछि वडामा जनशक्ति अभाव उत्पन्न भएको थियो । वैकल्पिक कर्मचारी पठाइदिन महानगरलाई अनुरोध गरिए पनि राजस्वसम्बन्धी अनुभव नभएको भन्दै पठाइएका कर्मचारी वडाबाटै फर्किएपछि बास्तोला आफैँ काममा जुटेका हुन् ।
‘तालिममा जान पाउने कर्मचारीको अधिकार हो । वैकल्पिक व्यवस्था महानगरले गर्ला भन्ने अपेक्षा थियो,’ वडा अध्यक्ष बास्तोलाले भने, ‘तर राजस्वको काम गर्न नसक्ने कर्मचारी आएपछि सेवाग्राही फर्किनु पर्ने अवस्था आयो । त्यसैले छोटो तालिम लिएर आफैँ इन्ट्री गर्न थालेँ ।’
अहिले उनी लेखा शाखाका कर्मचारीको युजर प्रयोग गरेर राजस्व विवरण प्रणालीमा इन्ट्री गरिरहेका छन् । पुस मसान्तसम्म कर तिर्दा छुटको व्यवस्था भएकाले यही समय राजस्व संकलनको चाप बढी हुने भन्दै उनले शाखा बन्द हुन नदिन आफू अघि सरेको बताए ।
लेखा शाखाकी कर्मचारी रीतु अधिकारीका अनुसार वडा अध्यक्षको सक्रियताले सेवा प्रवाहमा ठूलो राहत पुगेको छ । ‘एक्लै हुँदा दिनभर १०–१२ जनाको मात्र काम हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले ३० जनाभन्दा बढीको राजस्व उठ्न थालेको छ । सेवाग्राही खाली हात फर्किनुपरेको छैन ।’
यसअघि पनि सफ्टवेयर समस्या झेल्दै आएका सेवाग्राही कर्मचारी अभावका कारण थप मारमा परेका थिए । वडाध्यक्ष बास्तोलाले महानगर नेतृत्वप्रति प्रश्न उठाउँदै समयमै सरुवा–व्यवस्थापन नगर्नुको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।
वडासचिव शारदा सापकोटाका अनुसार अध्यक्षको पहलले सेवा पूर्णरूपमा ठप्प हुनबाट जोगिएको हो । ‘सिस्टम पनि राम्रो छैन, कर्मचारी पनि छैन,’ उनले भनिन्, ‘तर अध्यक्षज्यूले काम सम्हालेपछि कम्तीमा सेवा निरन्तर भएको छ ।’
यद्यपि महानगर प्रशासन भने वडाले नै तालिममा पठाउन सिफारिस गरेको र पछि पठाइएको कर्मचारी फर्काइएको दाबी गर्छ । प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले सरुवा सहमति खुलिसकेको भन्दै अब कर्मचारी व्यवस्थापन गरिने बताए ।
पोखरा महानगरपालिकामा विशेषगरी राजस्व क्षेत्रका कर्मचारी अभाव गहिरिँदै जाँदा सेवा प्रवाह प्रभावित बन्दै गएको छ । यस्तो अवस्थामा वडा अध्यक्ष स्वयं सेवाग्राहीको लाइनमा बसेर काम गर्नु स्थानीय तहको व्यवस्थापन चुनौतीको संकेतका रूपमा देखिएको छ ।