झलनाथको प्रश्न- महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ?

साझा लाल्टिन संवाददाता

काठमाडौँ ९ भदौ - नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्।

पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।

उनले सँगै कार्यक्रममा रहेका अध्यक्ष माधव नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ। त्यो कार्यक्रमलाई हामीले अहिलेसम्म प्रकाशित गरेका छैनौँ। यो कसको कमजोरीले हो बुझ्न बाँकी छ। यो प्रकाशित गर्नुपर्छ। यसले हाम्रो देशको समाजवादी कार्यक्रममा रूप अगाडि आउँछ। र त्यो नै हाम्रो लक्ष्य हो।’

उनले नेपाली समाजवादको रूपमा मार्सवादले लिने भन्दै त्यसलाई पार्टीले जोड्नुपर्ने बताए।

उनले भने, ‘अहिले हामी पूँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर हामीले समाजवाद निर्माण गर्ने हो। त्यो समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूको छलफल गरेर अघि बढ्न सकिन्छ। ठोस लक्ष्य तय गरेर नेपाली भएको सबै ठाउँमा पुर्‍याउनुपर्छ। त्यो कार्यदिशा, नीति र सिद्धान्त तय गर्नुपर्छ।’

उनले पार्टीको प्रधान अन्तर्विरोध किटान गरेर प्रहार गर्नुपर्ने बताए।

प्रतिक्रिया