२६ पुस, काठमाडौं - भोलिदेखि प्रारम्भ हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सम्बन्धित पक्षका नेताहरू शीर्ष नेतृत्वलाई औपचारिक रूपमा निमन्त्रणापत्र बुझाउने क्रममा छन्।
यही सिलसिलामा नेता रामपल्टन साह पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणापत्र दिन उनको महाराजगञ्जस्थित निवास पुगेका थिए। तर, कम्पाउन्डभित्र प्रवेश पाए पनि उनलाई लामो समयसम्म प्रतीक्षामा राखिएको साहले बताएका छन्।
करिब आधा घण्टापछि देउवाका स्वकीय सचिव भानु देउवा बाहिर आएर आफू किन आएको हो भनी सोधेको साहको भनाइ छ। साहले विशेष महाधिवेशनको औपचारिक पत्र बुझाउन आएको जानकारी गराएपछि भानुले अपमानजनक व्यवहार देखाएको उनको आरोप छ।
उनका अनुसार, “पत्र लिनुको सट्टा ‘तपाईंलाई लाज लाग्दैन?’ भन्दै पत्र मेरै गोजीमा हालिदिएर बाहिर निस्कन आदेश दिइयो।”
साहले सोही समयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पार्टीका अन्य शीर्ष नेताहरू पनि देउवा निवासमै रहेको र उनीहरूलाई भने पत्र सहजै बुझाइएको दाबी गरेका छन्।
यस घटनाले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर बढ्दो आन्तरिक तनाव र असहमतिलाई सतहमा ल्याएको देखिन्छ।