६ पुस, काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने अडान दोहोर्याएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीको बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला उनले त्यसका लागि आफू तयार नरहेको स्पष्ट पारेका हुन्।
एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले बयान दिनु भन्दा गोली खान र जेल जान तयार रहेको अभिव्यक्ति दिएका छन्।
सरकार पक्षबाट ‘बयान नदिए जबर्जस्ती ल्याइन्छ’ भन्ने भाषा प्रयोग भइरहेको प्रसंग उठाइएपछि ओलीले भने, “बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसकेको, जाँच दिन्न भन्ने—यत्रो कसुर गर्नेलाई त गोली हान्दिनु नि। उहाँहरूसँग बन्दुक छ नि।”
उनले थपे, “भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत। के सानातिना कुरा गरिराख्या?”
ओलीले आयोगका प्रतिनिधि बयान लिन आफ्नै घरमा आए चिया खुवाएर पठाउने पनि बताए। “मैले कति पटक भनिसकें—बयान दिनुपर्ने छैन। तपाईंहरूले रिजल्ट निकालिसक्नुभएको छ, फेरि म किन जाँच दिने?” भन्दै उनले बयान दिनु व्यक्तिको स्वेच्छाको विषय भएको दाबी गरे।
तर उनले आयोगसँग संवाद नै बन्द गर्ने अर्थमा आफूले कुरा नगर्ने भनेको नभएको स्पष्ट पार्दै भने, “मेरो कुराकानी हुन्छ, कुरा हुन्छ। तर बयान दिनु अनिवार्य हुँदैन।”
ओलीको यो पूरा अन्तर्वार्ता हिमालय टेलिभिजनमा प्रशारण हुँदैछ।