१५ फागुन,काठमाडौं - प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारका एकाघरका परिवारसम्मका बैंक खातामा निगरानी सुरु गरेको छ। चुनावी खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्न दिएको निर्देशन बेवास्ता गरिएको निष्कर्षपछि आयोगले यस्तो कदम चालेको हो।
आयोगले यसअघि नै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न र सबै खर्च सोही खाताबाट गर्न निर्देशन दिएको थियो। तर, धेरै उम्मेदवारले नगद वा बैंकिङ प्रणाली बाहिरबाट खर्च गरेको पाइएको भन्दै अनुगमन कडा पारिएको हो। अब उम्मेदवारले पुरानै खाता प्रयोग गरे पनि उनीहरू र परिवारका सदस्यको खाताको कारोबारसमेत निगरानीमा रहने आयोगले स्पष्ट पारेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंकमार्फत खर्च नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघनअन्तर्गत कानुनी कारबाही गरिने चेतावनी दिए। उनका अनुसार जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत उम्मेदवारको वित्तीय गतिविधिको अनुगमन भइरहेको छ भने सहायक प्रमुख जिल्ला अधिकारीले चुनावी सामग्रीसम्बन्धी खर्चको निगरानी गरिरहेका छन्।
आयोगले यस विषयमा नेपाल राष्ट्र बैंक लाई पनि पत्राचार गरिसकेको जनाएको छ। निर्देशन अवज्ञा गरेमा सम्बन्धित उम्मेदवारलाई निर्वाचन कसुरसम्बन्धी ऐन आकर्षित गरी ‘ब्ल्याकलिस्ट’मा राख्नेसम्मको निर्णय हुन सक्ने आयोगको भनाइ छ।
आयुक्त जबराले सबै पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन्।