२८ माघ, काठमाडौं - नेपाली कांग्रेस कञ्चनपुरले आफ्ना नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको समर्थन झल्किने कुनै पनि गतिविधि नगर्न कडा निर्देशन दिएको छ।
बुधबार जारी गरिएको विज्ञप्तिमार्फत पार्टीले आफ्ना आधिकारिक उम्मेदवारबाहेक अन्य कसैको पक्षमा पोष्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसार नगर्न स्पष्ट आग्रह गरेको हो। सचिव भीम भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी अनुशासन पालना गर्न विशेष जोड दिइएको छ।
पार्टीले नेता–कार्यकर्तालाई उम्मेदवारको पछि लागेर हिँड्ने प्रवृत्ति त्याग्न पनि सचेत गराएको छ। आ–आफ्नो टोल र वडामा केन्द्रित भएर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद, छलफल र समन्वयमा सक्रिय हुन निर्देशन दिइएको छ।
विज्ञप्तिमा भनिएको छ कि अनावश्यक रूपमा अन्य वडामा जाने क्रममा स्थानीय काममा असर पर्न सक्ने भएकाले आवश्यकता परेमा सम्बन्धित पार्टी सचिवालयलाई जानकारी गराएर मात्र जानुपर्नेछ।
कांग्रेसले सबै तहका नेता–कार्यकर्तालाई संगठनात्मक एकता र अनुशासनलाई प्राथमिकतामा राख्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउन टोल–टोल र वडा–वडामा सक्रिय रूपमा परिचालन हुन आह्वान गरेको छ।