१४ फागुन,काठमाडौं - रवि लामिछानेले आफ्नो पार्टी नेतृत्वको सरकार बने पाँच वर्षे स्थायी शासनमार्फत सुशासनको नयाँ अध्याय सुरु गर्ने दाबी गरेका छन्। गोरखामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले मत विभाजन नगर्न मतदातासँग अपिल गरे।
लामिछानेले समानुपातिक र प्रत्यक्षतर्फ भोट छुट्याउने प्रवृत्तिले पार्टीलाई बहुमतबाट टाढा लैजाने भन्दै सचेत गराए। “भोट बाँडियो भने सिट बाँडिन्छ, सिट बाँडियो भने बहुमत आउँदैन,” उनले भने, “रास्वपाले बहुमत नल्याए सबैभन्दा खुसी भ्रष्टाचारीहरू हुनेछन्। त्यसैले तिनलाई खुसी पार्ने होइन, घण्टी बजाउने हो।”
उनले धर्म, जात, समुदाय र सम्प्रदायको नाममा राजनीतिक ध्रुवीकरण गर्न खोज्ने शक्तिहरूबाट सतर्क रहन आग्रह गरे। समाजमा दशकौँदेखि कायम सद्भावलाई चुनावी स्वार्थका लागि प्रयोग गर्न नदिनुपर्ने उनको भनाइ थियो। “म धर्मका नाममा राजनीति गर्दिनँ, धर्मको आडमा राजनीति गर्ने युगको अन्त्य गर्नुपर्छ,” उनले जोड दिए।
आगामी फागुन २१ गतेको मतदानलाई उनले ‘इतिहास लेख्ने दिन’ को संज्ञा दिँदै गोरखा–१ बाट सुधन गुरुङ र गोरखा–२ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन आग्रह गरे। गुरुङ संसद्मा पुगे भ्रष्टाचारविरुद्ध कडा आवाज उठ्ने दाबी गर्दै उनले यसपटक जसरी पनि सदन पुर्याउने प्रतिबद्धता व्यक्त गरे।