राजसंस्था मुलुकको अभिभावक हो : कमल थापा

साझा लाल्टिन संवाददाता

काठमाडौ १९ असार - राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको दाबी गर्दै छाडातन्त्र रोक्नका लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा बुधवार राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे । 

उनले मुलुक अभिभावक विहीन भएको चर्चा गर्दै यसैका कारण  विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए । अहिले कसैको डरभर नभएकोले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो । 

धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे । यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनले बताए । 'राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि  राजसंस्था हामीहरूको आस्था र विश्वास सहितको वैचारिक अवधारणा हो ।'


प्रतिक्रिया