काठमाडौं १९ साउन - दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध सङ्गठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा दर्ता भएको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा पेसी तोकिएको छ ।
यसअघि २०८१ माघ ६ मा जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड बस्दै आएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादी मध्ये हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको पाइएपछि पक्राउ गरिएको थियो । फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।