हामी पुराना हौं, तर उस्तै होइनौं - पुनको आत्मआलोचना र प्रतिबद्धता

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित नतिजा नआए पनि पार्टी पंक्तिलाई विचलित वा निराश नहुन आग्रह गरेका छन्।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसको अवसरमा आयोजित शहीदका प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेकपा असफलताबाट पाठ सिक्दै “धुलो टक्टकाएर” पुनः उठ्ने बताए।

उनका अनुसार अब पार्टीले आफ्ना विचार, राजनीति, संगठन, नेतृत्व, कार्यशैली र तौरतरिकामाथि गम्भीर पुनर्मूल्यांकन गर्नुपर्नेछ। देशको वर्तमान आवश्यकता र जनताको भावना अनुसार आफूलाई पुनर्गठन गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

पुनले निर्वाचनमा आफूहरू रूपान्तरण र सुशासनको एजेण्डा लिएर गएको भए पनि जनताले नेकपालाई पुरानै राजनीतिक शक्तिको रूपमा मूल्यांकन गरेको स्वीकार गरे। “हामी पुराना त हौं, तर उस्तै ढर्राका पुराना होइनौं, हामीले अवस्था बदल्ने प्रयास गरेका छौं,” उनले भने।

उनले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि गोली चलाउने प्रवृत्तिको विरोध गरेको र २४ गते सिंहदरबार जलाउने जस्ता विध्वंसकारी गतिविधिको पनि विपक्षमा रहेको स्पष्ट पारे।

१० वर्षे जनयुद्धका क्रममा समेत पटक–पटक ठूलो क्षति र हार व्यहोरे पनि नेतृत्वले हार नमानेको स्मरण गर्दै उनले अहिले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताए।

“अहंकार, विचलन र निराशा होइन, शहीदको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले उठ्नुपर्छ,” उनले जोड दिए। उनले थपे, “हामी फेरि जनतामाझ जान्छौं र एकदिन देशको नेतृत्व गर्ने ठाउँमा पुग्छौं।”

प्रतिक्रिया