१३ फागुन,काठमाडौं - नेपाली सेनाभित्र पद र प्रभावको दुरुपयोगबारे बेला–बेला प्रश्न उठ्ने गरेका छन् । यसै सन्दर्भमा नेपाली सेना अन्तर्गत सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत एक सुबेदारमाथि गम्भीर आरोप सार्वजनिक भएको छ ।
स्रोतका अनुसार ती सुबेदारले पारिवारिक जीवनमा श्रीमती र दुई छोरामाथि मानसिक दबाब, डर र धम्की सिर्जना गरेको आरोप लागेको छ । पीडित पक्षले न्यायको माग गर्दै गत माघ २५ गते जंगी अड्डामा निवेदन दिन खोजे पनि दर्ता हुन नसकेको गुनासो गरेको छ ।
ससुराली पक्षको दाबीअनुसार सुबेदारले माथिल्लो तहसँगको सम्बन्ध र प्रभावको आडमा उजुरी प्रक्रिया अगाडि बढ्न नदिएको आशंका गरिएको छ । यद्यपि यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।
सैन्य संरचनामा निर्णय प्रक्रिया अत्यन्तै केन्द्रित हुने र बाह्य निगरानी सीमित रहने कारण यस्ता आरोपहरू छानबिनसम्म पुग्न कठिन हुने विश्लेषकहरू बताउँछन् । यस घटनाले सेनाभित्र पारदर्शिता, जवाफदेहिता र पीडितलाई न्याय सुनिश्चित गर्ने संयन्त्रबारे पुनः बहस सुरु गराएको छ ।