आजै ढल्छ, भोलि नै ढल्छ भन्छन् गठबन्धन २०८४ सम्म जान्छ, जान्छ : ओली

साझा लाल्टिन संवाददाता

काठमाडौँ २८ साउन - एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताए । 

‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ?देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,’ ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको बताउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको बताए । 

उनले आफूहरूलाई यो प्रणाली ज्यान सरह प्रिय रहेको बताउँदै यसको जीवनको लागि हामी कष्ट सहन पनि तत्पर रहेको बताए । ।

‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौ,’ ओलीले बताए ।

प्रतिक्रिया