राष्ट्रिय गरिमा र लोकतन्त्र सुदृढ गर्न ओलीको आह्वान

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा लोकतान्त्रिक उपलब्धिको रक्षा र संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले संविधानको संरक्षणमार्फत मात्रै जनताका अधिकार सुरक्षित र सुदृढ रहने उल्लेख गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले प्रजातन्त्र प्राप्ति सहज प्रक्रियाबाट नभई जनताको साहस, त्याग र बलिदानबाट सम्भव भएको स्मरण गराए। उनले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा जोगाउने प्रयास तथा विगतका विभिन्न घटनाक्रमले क्षतिग्रस्त बनेका राष्ट्रिय धरोहरहरूको संरक्षण आजको आवश्यकता भएको बताए।

शुभकामना सन्देशमा उनले प्रजातन्त्र दिवसलाई ऐतिहासिक उपलब्धिको प्रतीकका रूपमा व्याख्या गर्दै जहानियाँ राणा शासनको अन्त्यसँगै स्वतन्त्रता र अधिकारको नयाँ युग सुरु भएको उल्लेख गरेका छन्। लोकतन्त्रका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमागङ्गालाल श्रेष्ठको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेका छन्।

ओलीले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र नागरिक स्वतन्त्रताको रक्षा गर्दै देशलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, राष्ट्रिय एकता र सहकार्यका माध्यमबाट जनअपेक्षा पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया