नेता–उम्मेदवारको घृणायुक्त अभिव्यक्ति र डिजिटल दुरुपयोगमा आयोगको गम्भीर चिन्ता

साझा लाल्टिन संवाददाता

२२ माघ, काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिता र मानव अधिकारको गम्भीर उल्लंघन भइरहेको भन्दै सरोकारवाला सबै पक्षलाई सचेत गराएको छ।

आयोगले हालै गरेको अनुगमन तथा सरोकारवालासँगको छलफलबाट राजनीतिक दलका नेता र उम्मेदवारहरूबीच एक–अर्काविरुद्ध अमर्यादित भाषा प्रयोग र घृणाजन्य अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको पाइएको जनाएको छ। यस्तो व्यवहारले निर्वाचनको मर्यादा र मानव अधिकारमैत्री वातावरण दुवैलाई कमजोर बनाएको आयोगको ठहर छ।

डिजिटल प्रविधिको दुरुपयोग गरी व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम तीव्र रूपमा बढेकोप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ। साथै, मतदातालाई कुन दल वा उम्मेदवारलाई भोट दिन्छन् भनेर सोध्ने, त्यसलाई अडियो–भिडियोमा रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले गोपनीय मतदानको अधिकार उल्लंघन भएको आयोगको निष्कर्ष छ।

कतिपय सञ्चारमाध्यमले निर्वाचनअघि नै कसले जित्छ भन्ने अनुमानसहित समाचार प्रकाशन गर्दा मतदातामा भ्रम सिर्जना भएको र मतदाता शिक्षा अपेक्षित रूपमा प्रभावकारी नभएको आयोगले जनाएको छ।

राजनीतिक दलका कार्यालयहरूमा भएका तोडफोड र हिंसात्मक घटनाप्रति समेत आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र कुनै पनि किसिमका हिंसात्मक गतिविधि तत्काल बन्द गर्न आग्रह गरिएको छ।

आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, निष्पक्ष र मानव अधिकारको सम्मान हुने वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

प्रतिक्रिया