राज्यलाई प्रसाईंको ठाडो चुनौती: प्रतिबन्ध बेवास्ता गर्दै एयरपोर्ट घेर्ने घोषणा

साझा लाल्टिन संवाददाता

२९ माघ, काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियान’को नाममा गतिविधि गर्दै आएका दुर्गा प्रसाईंले फेरि एकपटक राज्य संयन्त्रलाई खुला चुनौती दिएका छन्।

एयरपोर्ट परिसरमा भिडभाड तथा प्रदर्शन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था र जिल्ला प्रशासन कार्यालयको प्रतिबन्धलाई बेवास्ता गर्दै प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक उतार्ने घोषणा गरेका हुन्।

भक्तपुरको मध्यपुर ठिमीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट आफ्ना समर्थकलाई भोलि मध्याह्न १२ बजे विमानस्थलको मूल गेटमा उपस्थित हुन आह्वान गरे। प्रशासनले विमानस्थल र आसपासका क्षेत्रमा जुलुस, र्याली, हड्ताल तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरेको सूचना जारी गरिसकेको अवस्थामा उनले उक्त निर्णय आफूलाई स्वीकार्य नभएको स्पष्ट पारे।

काठमाडौँ बाहिरबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नाराबाजीसहित विमानस्थलदेखि निर्मल निवाससम्म पुर्‍याउने तयारी रहेको प्रसाईंले बताए।

“सिडिओले एयरपोर्ट वरिपरि हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ रे, तर केही फरक पर्दैन,” उनले समर्थकतर्फ फर्केर भने, “नेपालीहरू घेरा तोडेर स्वागत गर्न जान्छन्, जाने हैन त?”

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रलाई ‘नडराउन’ आग्रह गर्दै अझ आक्रामक अभिव्यक्ति दिए। “हामी शान्तिपूर्ण रूपमा निर्मल निवाससम्म पुर्‍याउँछौं, पुलिसले हस्तक्षेप नगरोस्,” उनले भने, “राजालाई भन्न चाहन्छु—अब आँट गर्नुस्। हामी निर्मल निवास घेराउ गरेर नारायणहिटीमा ल्याएर राख्छौं, कसैले छेक्न सक्दैन।”

यति मात्र होइन, प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत चुनावको तयारी नगर्न चेतावनी दिए। “मलाई जति थुन्नुहोस् थुन्नुहोस्, केही फरक पर्दैन,” उनले भने, “तर चुनावको कल्पना पनि नगर्नुस्।”

प्रसाईंको यो अभिव्यक्तिले सुरक्षा संयन्त्र र प्रशासनलाई प्रत्यक्ष चुनौती दिएको छ भने उपत्यकाको सुरक्षा अवस्था पुनः तनावग्रस्त बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया